बिहीबार ०१ माघ, २०८२

नेपाली समय

बाल्यकालमाथि अदृश्य बोझ

बाल्यकालमाथि अदृश्य बोझ

नेपालको सामाजिक–आर्थिक संरचनामा बालबालिकाको सहभागिता केहि समययता व्यापक अध्ययनको विषय बन्दै आएको छ । तर अधिकांश अध्ययनले बालश्रमको “देखिने” रूपमात्र समेट्ने गरेका छन् जस्तै खेतबारी, निर्माणस्थल, उद्योग, पसल, घर लगायतका ठाउँमा हुने श्रम तर स्कुल जानुपर्ने उमेरका बालबालिकाले गरिरहेको घरायसी काम, भाइबहिनी स्याहार्ने, पानी तथा दाउरा ल्याउने, खाना पकाउने, सरसफाइ गर्ने, र पारिवारिक जीविकोपार्जनसँग सम्बन्धित विभिन्न जिम्मेवारीहरूलाई अक्सर समाजले “घरको सहयोग” भनी सामान्यीकरण गर्ने गरेको पाईन्छ । यस्ता खाले अनौपचारिक र अदृश्य कार्यलाई श्रमको परिधिभित्र राखेको पाइंदैन । तर यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, मानसिक विकास, सामाजिक समावेशीकरण र जीवनका अवसरमा पार्ने प्रभाव र छोड्ने छाप ‘बालश्रमभन्दा धेरै गहिरो’ हुन्छ ।

केयर वर्क’ शब्द प्रायः सामाजिक विज्ञान र अर्थशास्त्रमा उपयोग हुने अभिव्यक्ति हो, जसले घरायसी र सामाजिक हेरचाह सम्बन्धी अवैतनिक कामलाई जनाउँछ । अन्तर्राष्ट्रिय रूपमा यसले मानिसको दैनिक जीवन धान्न आवश्यक पर्ने हेरचाहसम्बन्धी कामहरू जस्तै खाना पकाउने, सरसफाइ गर्ने, पानी तथा ईन्धन जोड्ने, साना बालबालिका वा वृद्धको हेरचाह गर्नेलाई समेट्छ । वयस्कको सन्दर्भमा केयर वर्कलाई लैङ्गिक तथा आर्थिक विश्लेषणसँग जोडेर हेर्ने गरिएको भए पनि बालबालिकाको सन्दर्भमा यसले शिक्षा र विकासको अधिकारसँग प्रत्यक्ष सम्बन्ध राख्छ । बिशेष गरेर घरायसी जिविकोपार्जनका कार्यहरु जस्तै खाना पकाउने, सरसफाइ गर्ने, पानी ल्याउने, पारिवारिक सदस्यको हेरचाह गर्ने, कृषि तथा पारिवारिक जीविकोपार्जनका कार्यहरु: कार्य गाईबस्तु हेरचाह, खेतबारीमा गर्ने काम, दाउरा संकलन, अनौपचारिक र जोखिमपूर्ण घरेलु तथा साना व्यवसायमा संलग्न भई गरिने काम, निर्माण क्षेत्रमा सहयोग आदि गरिरहेका छन् । यी श्रमहरूले प्रायः बालबालिकाको शिक्षा, सिप विकास, सृजनात्मकता तथा विश्रामको समयलाई खाइदिन्छन् फलत: सुनौलो वर्तमान र भविष्यका अवसरहरु नकारात्मक रुपमा प्रभावित हुन्छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठनको २०२१ को रिपोर्टअनुसार नेपालमा ५–१७ वर्ष उमेर समूहका करिब १०.८ लाख बालबालिका श्रममा संलग्न छन्, जसमा करिब २ लाखभन्दा बढी बालबालिका जोखिमपूर्ण श्रममा छन् । यसैबीच, ८७ प्रतिशत भन्दा बढी बालश्रम कृषि क्षेत्रमा केन्द्रित छन् । तर यी तथ्याङ्कबाट हामीले   केवल देखिने श्रमलाई मात्र विश्लेषण गर्न सक्छौं । घरभित्र हुने अवैतनिक श्रम जसलाई हामी ‘केयर वर्क’ भन्दछौं, त्यसलाई राष्ट्रिय तथ्याङ्क प्रणालीमा समावेश नै गरिएको छैन । अर्थात्, बालबालिकाले बिहानदेखि साँझसम्म घरको काममा बिताएको समय तथ्याङ्किक रूपमा गणना हुँदैन । यसले गर्दा नीति निर्माताहरूले बनाउने नीति र योजनाहरूमा वास्तविक समस्या ओझेलमा परिरहेका छन् ।

शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षणसँग सम्बन्धित तथ्याङ्कले पनि यस विषयमा स्पष्ट दृश्य प्रस्तुत गर्दैनन् । विद्यालयमा बालबालिका किन उपस्थित हुँदैनन् ? उनीहरुको अनुपस्थितिको कारणका सम्बन्धमा अनुसन्धान गर्दा प्राय, घरको काम वा घरायसी जिम्मेवारी भन्ने सामान्य कारण रहेको देखिन्छ । तर यी कारणलाई विश्लेषण गर्दा यो केवल विद्यालयमा अनुपस्थिति मात्र होइन, संरचनात्मक समस्या हो भन्ने स्पष्ट हुन्छ । जसलाई तथ्यांकले देखाएको सामान्य अवस्थाको विवरणभन्दा बढी गम्भीरतापूर्वक बुझ्न आवश्यक छ ।

हाम्रो नेपाली समाज जातीयता, भूगोल, आय तथा आर्थिक अवसरहरूका आधारमा विभाजित छ । ग्रामीण र शहरी भेगका बिचमा केयर वर्कका स्वरूप र असरमा स्पष्ट भिन्नता देखिन्छ । ग्रामीण भेगमा पानी पँधेरो, दाउरा, खेतबारीमा गरिने काम, वर्षा याममा खोलानाला छिचोल्दै गरिने जोखिमपूर्ण यात्रा, हिउँदको जाडोमा पनि घरको सबै काम सकाएर विद्यालय जानुपर्ने बाध्यताले बालबालिकाको समय र उर्जा दुवै खपत हुन्छ । घरबाट विद्यालय टाढा हुने, विद्यालयको गृहकार्य सँगै घरायसी जिम्मेवारी पनि पूरा गर्नुपर्ने हुँदा, बालबालिका  कुनै कुरामा पनि समय दिन सकिरहेका हुँदैनन् जसले गर्दा उनीहरुको पढाईमा नकारात्मक असर त पर्छ नै सँगसँगै अपरिपक्व उमेर र धेरै जिम्मेवारीका कारण घरायसी काममा पनि उनीहरुले राम्रो गर्न सक्दैनन् ।

शहरी भेगमा केयर वर्क अधिकमात्रामा गृहस्थी र अनौपचारिक व्यवसायमा आधारित छ । धेरैजसो बालबालिका घरेलु कामदार, होटल, पसल तथा परिवारले नै संचालन गर्ने साना व्यवसायमा संलग्न हुन्छन् । यस्तो अवस्थामा उनिहरुको पढ्ने समय नै हुँदैन र मुश्किलले भएछ भने पनि एकदमै कम हुन्छ । शहरी क्षेत्रमा रहनसहनका आधारहीन कारणले उनीहरू सामाजिक रूपमा पनि अलग हुन बाध्य हुन्छन्  । यसरी ग्रामीण होस् या शहरी दुवै क्षेत्रका बालबालिका सम्मिलित केयर वर्कले बाल्यकालको समय, शिक्षा, स्वास्थ्य र सामाजिक पहुँच सम्बन्धी अधिकारलाई निर्मम सिकार बनाएको छ ।

केयर वर्कले सबैभन्दा प्रत्यक्ष असर बालबालिकाको शिक्षा सम्बन्धि अधिकारमा गरेको छ । नेपालमा विद्यालय समय सामान्यतया बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म हुने गर्दछ तथापी अतिरिक्त कक्षाको नाममा अतिरिक्त भार समेत बालबालिकामा पर्ने गरेको छ । खाना बनाउने, पानी ल्याउने, खेत बारीमा सहयोग गर्ने, भाइ बाहिनीको स्याहार गर्ने लगायत घरायसी जिम्मेवारीको कारण बालबालिकाको विद्यालयमा उपस्थिति कम हुन जान्छ जसले गर्दा पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने, गृहकार्यका लागि समय नपाउने, पढाईमा राम्रो गर्न नसक्ने हुन्छ । फलतः विद्यालय नै छोड्नु पर्ने जटिल अवस्था समेत सृजना हुन्छ ।

एक अध्ययनमा अनुसार अधिक घरायसी काममा समय बिताउने बालबालिकाको विद्यालयमा उपस्थिति न्यून हुन्छ र सृजनात्मक सिप विकास नकारात्मक रूपमा प्रभावित हुन्छ । यस्ता बालबालिकाले खेलकुदमा भाग लिने, साथी बनाउने, आफूले देखे सुनेका कुराहरु मनन गर्ने, पढ्ने तथा सामाजिक गतिविधिमा भाग लिने आदि अवसरबाट वन्चित हुनुपर्छ जसले दीर्घकालिन रूपमा उनीहरुको विद्या, सीप र रोजगारी समेतलाई नकारात्मक असर गर्दछ ।

बाल्यकाल भनेको शारीरिक तथा मानसिक विकासको समय हो । तर अत्याधिक श्रम, थकान र बोझले बालबालिकाको शारीरिक  स्वास्थ्य मात्र नभई मानसिक र सामाजिक सम्बन्ध समेतलाई प्रतिकूल प्रभाव पार्छ । पानी, दाउरा लगायत भारी बोझ बोकेर हिँड्दा हड्डी र मांसपेशीको विकासमा समस्या आउँछ । खेतमा काम गर्दा चोटपटक र जोखिमयुक्त अवस्थाहरूले शारीरिक स्वास्थ्यलाई निरन्तर चुनौती दिन्छ । बालबालिकाले पर्याप्त विश्राम, खेल, सामाजिक अन्तरक्रिया र सिर्जनशील गतिविधिमा भाग लिन नपाउँदा उनीहरूमा तनाव, निराशा, आत्मविश्वासको कमी तथा सामाजिक अलग भाव जस्ता लक्षणहरू देखिन्छन् । सिमित समय अवधिमा काममा व्यस्त रहेकाले उनीहरूले आफ्नो रुचि, क्षमता र भविष्यका लक्ष्यबारे सोच्नै पाउँदैनन् । यसले दीर्घकालीन रूपमा पेशा चयन, आत्मनिर्भरता र सामाजिक सम्बन्धहरूमा असर पुर्याउँछ ।

नेपालमा पारिवारिक र सामाजिक संरचनाले लैङ्गिक विभाजनलाई अझै निरन्तरता दिएको छ । घरायसी काम र हेरचाहलाई “छोरीको जिम्मेवारी” ठान्ने सामाजिक सोचले बालिकालाई विद्यालयभन्दा घरमा बढी समय बिताउन बाध्य बनाउँछ । यसले उनीहरुको शिक्षा, सिप विकास, आत्मनिर्भरता तथा भविष्यका सम्भावनालाई सीमित गर्छ । छोरीहरू सामान्य कामभन्दा बढी केयर वर्क र घरायसी जिम्मेवारीमा संलग्न हुने हुँदा उनीहरूको विद्यालय छाड्ने दर पुरुष बालबालिकाभन्दा बढी छ । यसले लैङ्गिक असमानतालाई मात्र सुदृढ बनाउँदैन, समान अवसरका सिद्धान्तप्रति ठूलो चुनौती प्रस्तुत गर्दछ र संविधान प्रदत्त बालबालिकाको हकलाई संकुचित गर्दछ ।

नेपालको संविधानले बालबालिकाको अधिकारलाई संरक्षण गरेको छ । नेपालको संविधान धारा ३९ ले “बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासको हक हुनेछ । कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन । धार्मिक प्रचलनका नाममा कुनै पनि माध्यम वा प्रकारले दुर्व्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोग गर्न पाइने छैन” भनि बालबालिकाको सर्वांगीण व्यक्तित्व विकासका सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ । सम्मानित सर्वोच्च अदालतले वालवालिकाको सर्वांगीण व्यक्तित्व विकास र उच्चतम हितलाई ध्यानमा राखी doctrine of parents patriae को अवधारणाअनुसार पनि देशका प्रत्येक बालबालिकाको सर्वोत्तम् हित र संरक्षणको लागि राज्यले अभिभावकत्वको जिम्मेवारी ग्रहण गर्नुपर्ने भनि नजिर सिद्धान्त प्रतिपादन समेत गरेको छ । त्यसैगरी बालश्रम निषेध तथा नियमन ऐन, २०५६ र बालबालिका सम्बन्धी ऐन, २०७५ ले पनि बालश्रमलाई प्रतिबन्ध गरेको छ ।

तर समस्या कानुनको अभावमा नभई कार्यान्वयनको कमजोरीमा छ । कानुनी संरचना बलियो भएता पनि घरभित्रको केयर वर्कलाई पहिले नै ‘अपरिहार्य पारिवारिक सहयोग’ भनेर हेर्ने सामाजिक स्वीकृतिले यसलाई नीतिगत रूपमा व्यवस्थित गर्न कठिन बनाएको छ । बाल संरक्षण संयन्त्र धेरैजसो सहरका विद्यालय, सिमित गैर सरकारी संस्था सम्म मात्र सीमित छन् । स्थानीय तहमा यसबारे व्यापक निगरानी, तथ्याङ्क संकलन र कार्यनीतिगत दायराको अभाव छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन, यूनिसेफ, र युनाइटेड नेशन्स डेपार्टमेन्ट अफ इकनॉमिक एण्ड सोसल अफेयर्स जस्ता संस्थाहरूले बालश्रम र केयर वर्क अन्त्यका लागि बृहत् बहुक्षेत्रीय रणनीति अपनाउन सुझाव दिएका छन् । धेरै मुलुकले बालश्रम र केयर वर्कलाई छुट्याउनुको सट्टा एकीकृत “बाल काम” वर्गीकरण मार्फत मान्यता दिएका छन्, जसले घरायसी श्रमको प्रभावलाई पनि तथ्याङ्कमा समावेश गर्छ ।

उदाहरणका लागि, भारतको तेलंगाना राज्यले अन्तर्राष्ट्रिय श्रम संगठन सँगको साझेदारीमा शिक्षा समर्थन, सामाजिक सुरक्षा र समुदाय निगरानी संयन्त्र मार्फत बालश्रमलाई उल्लेखनीय रूपमा घटाएको छ । बाल केयर वर्कलाई परिवार र समुदायको प्राथमिकतामा राखेर, विद्यालय समय अनुकूल बनाइदिँदा उपस्थिति र सिकाइ दरमा सुधार आएको छ । दक्षिण अफ्रिकाले बाल श्रम कार्ययोजना मार्फत अवैतनिक घरेलु श्रमलाई पनि बालश्रमको दायरामा समेट्दै एकीकृत नीति बनाएको छ, जसले बाल कार्यको व्यापक विश्लेषण र समाधानको बाटो खुलाएको छ ।

यी अभ्यासहरूले कानुन मात्र होइन, शिक्षा, सामाजिक सुरक्षा, सामुदायिक सचेतना, आर्थिक सशक्तिकरण जस्ता पक्षहरूलाई एकैसाथ अघि बढाउनु आवश्यक छ भन्ने देखाउँछन् ।

नेपालमा केयर वर्कलाई सामान्य पारिवारिक सहयोग भनी बेवास्ता गर्ने समय सकिएको छ । यसका लागि केहि उपायहरू अवलम्बन गर्न आवश्यक छ । केयर वर्कलाई राष्ट्रिय तथ्याङ्कमा समावेश गर्ने, अवैतनिक श्रमको तथ्याङ्क संकलन गरेर बालकार्यको वास्तविक स्वरूप पहिचान गर्ने, शिक्षामा लचिलो समय तालिका बनाई घरायसी जिम्मेवारी बोकेका बालबालिकालाई विद्यालयमा उपस्थित रहन प्रेरित गर्ने, समान अवसर र लैङ्गिक समानता, बालिकाका लागि विशेष शिक्षा–प्रोत्साहन कार्यक्रम, परिवार तथा समुदायलाई सामाजिक सुरक्षाको व्यवस्था गरी नगद हस्तान्तरण, आयआर्जन कार्यक्रम र प्राथमिक स्रोत पहुँच, स्थानीय तहमा निगरानी संयन्त्र बनाई विद्यालय, स्थानीय प्रशासनबीच समन्वय गर्न सकियो भने धेरैहद सम्म केयर वर्कको प्रभावलाई कम गर्न सकिन्छ ।

केयर वर्क नेपालमा बालबालिकाको जीवनसँग गहिरोसँग गाँसिएको वास्तविक समस्या हो । यसलाई सामान्य पारिवारिक सहयोग भनेर चुप लाग्नु भनेको बाल अधिकारको उल्लङ्घन स्वीकार्नु हो । बालबालिकाको काँधमा जिम्मेवारी होइन, कलम, किताब र सपना हुनुपर्छ । बाल्यकाल श्रम होइन, सिकाइ र सम्भावनाको समय हो भन्ने मान्यता बिना दिगो विकास सम्भव छैन । केवल कानुनी संरचना बलियो बनाउनु मात्र पर्याप्त होइन शिक्षा, सामाजिक सुरक्षा, आर्थिक समानता र समुदाय चेतना जस्ता पक्षहरूलाई सँगसँगै चलाउनुपर्छ । जबसम्म केयर वर्कको अदृश्य बोझ हटाइँदैन, नेपालले बालमैत्री, न्यायपूर्ण र समृद्ध भविष्यको आधार तयार पार्न सक्दैन ।