सोमबार २० असोज, २०८२

नेपाली समय

नेशनल प्याब्सन दाङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेशनल प्याब्सन दाङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेशनल प्याब्सन दाङको आयोजनामा विजया दशमी, शुभ दीपावली र छठ पर्व २०८२ को अवसरमा सोमबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय सदस्य बिमल गौतमको प्रमुख आतिथ्यता एवं केन्द्रीय सदस्य भीमबहादुर बुढाथोकी र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले यस किसिमका कार्यक्रमहरूले आपसी सद्भाव र भाइचाराको सम्बन्ध कायम गर्ने महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । साथै उहाँले नेशनल प्याब्सन छिट्टै एकता र सहकार्यको धारमा अघि बढ्ने विस्वास व्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि बुढाथोकीले सरकारले निजी विद्यालयहरूको योगदानलाई उचित सम्मान नदिएकोमा दुख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, सरकारले बारम्बार निजी विद्यालयलाई अनावश्यक दबाब दिएको छ, यदि हामी एकजुट भएनौं भने हाम्रो लगानी समेत सुनिश्चित हुने छैन ।

नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले दशैं पर्वको धार्मिक र सांस्कृतिक महत्त्वका बारेमा चर्चा गर्दै चाडपर्वले सामाजिक एकता र आपसी सद्भावको वातावरण निर्माण गर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका अन्य वक्ताहरूले एन प्याब्सनको विभिन्न रचनात्मक कार्यको प्रशंसा गर्दै यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा डिभाइन टेम्पल एकेडेमीकी विद्यार्थी जीवा बुढाथोकीले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो । जिल्ला सदस्य ईन्दिरा शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालण जिल्ला सदस्य कुलदिप गौतमले गर्नुभएको थियो ।