झापाको मेचीनगर नगरपालिका–९, खुट्टिडाँगीस्थित सडकखण्डमा स्कुल भ्यान दुर्घटना हुँदा १९ बालबालिकासहित २१ जना घाइते भएका छन्।
पारिजात पब्लिक स्कुलको मे १ ज ३१०७ नम्बरको भ्यान शुक्रबार बिहान करिब १० बजे आफैँ अनियन्त्रित भई सडक छेउमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनामा घाइते भएकामध्ये १९ जना बालबालिका, एक जना चालक र एक जना शिक्षिका हुनुहुन्छ ।
घाइतेहरूलाई तत्काल उद्धार गरी बिर्तामोडस्थित बिएन्डसी अस्पताल र धुलाबारीस्थित आम्दा अस्पतालमा उपचारका लागि पठाइएको छ।
दुर्घटनामा ४५ वर्षीय चालक गणेश श्रेष्ठको टाउकोमा चोट लागेको छ।
त्यसैगरी, ६ वर्षीया र ४ वर्षीया दुई बालिकाको टाउकोमा समेत चोट लागेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
अन्य बालबालिकाहरूको अवस्था सामान्य छ। दुर्घटनामा परेका शिक्षिका प्रीति सिवाको टाउकोमा सामान्य चोट लागेको छ।
हाल प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ।