एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि हन्ड्रेड ग्रुप नेपालले पूर्ण छात्रवृत्तिको लागि आवेदन खुला गरेको छ।
‘प्रोजेक्ट शिक्षा’ शीर्षकमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत ६० जना पूर्ण छात्रवृत्तिका लागि र ५० जना आंशिक छात्रवृत्तिका लागि छनोट गरिने संस्थाले जनाएको छ। पूर्ण छात्रवृत्ति (Fully Funded) अन्तर्गत ६० जना विद्यार्थी (३० पुरुष र ३० महिला) लाई दुई वर्षसम्म सम्पूर्ण अध्ययन खर्च संस्था स्वयंले व्यहोर्ने व्यवस्था गरिएको छ। यस योजनामा अध्ययन शुल्क (Tuition) मात्र होइन, विद्यार्थीको आवास सुविधा (Accommodation) र दैनिक खानपान (Food) समेत निःशुल्क रूपमा उपलब्ध गराइनेछ। छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई काठमाडौंका छुट्टाछुट्टै होस्टेलमा राखिने व्यवस्था गरिएको छ।
त्यसैगरी, आंशिक छात्रवृत्ति (Partially Funded) मा ५० जना विद्यार्थीलाई दुई वर्षसम्मको अध्ययन शुल्क मात्र निःशुल्क प्रदान गरिनेछ। तर, यस श्रेणीमा छनोट भएका विद्यार्थीहरूले आफ्नो आवास तथा खानपान खर्च स्वयं वा परिवारको सहकार्यमा व्यवस्थापन गर्नुपर्नेछ।
संस्थाका प्रतिनिधि बब्लु गुप्ताका अनुसार छात्रवृत्तिमा छनोट भएका विद्यार्थीहरूले दुई वर्षसम्म अध्ययन मात्र होइन, आवास र खानपान सुविधा समेत निःशुल्क रूपमा प्राप्त गर्नेछन्।
“पुरुष विद्यार्थीहरूलाई गुह्येश्वरी र नयाँ बानेश्वरमा, महिला विद्यार्थीहरूलाई बौद्धस्थित होस्टेलमा राख्ने व्यवस्था गरिएको छ,” गुप्ताले जानकारी दिनुभयो।
छात्रवृत्ति कार्यक्रमको लागि आवेदन फारम असार ३० गतेसम्म बुझाइसक्नुपर्नेछ। साउन १ गते लिखित परीक्षा लिइनेछ भने साउन ३ गतेसम्म अन्तर्वार्ता सम्पन्न गरी अन्तिम छनोट गरिनेछ।
गुप्ताका अनुसार विद्यार्थीहरूले नोबेल एकेडेमी, हिमालयन ह्वाइट हाउस, जेभियर इन्टरनेशनल लगायतका कलेजहरूमा अध्ययन गर्न पाउनेछन्। कलेजको शुल्क संस्थाले बेहोर्नेछ भने खानपान र आवासको सम्पूर्ण व्यवस्था हन्ड्रेड ग्रुपले गर्नेछ।
छात्रवृत्तिका लागि निम्न आय भएका, एकल आमाले हुर्काएका तथा दूरदराज र सीमान्तकृत क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशबाट आएका विद्यार्थीहरू विशेष प्राथमिकतामा पर्ने गुप्ताले बताए।
कार्यक्रममा एनसीएल नेपाल र रुटिन अफ नेपाल बन्दले पनि सहकार्य गरेको छ। गुप्ताका अनुसार हन्ड्रेड ग्रुपले विगत ८ वर्षदेखि हरेक वर्ष यस्तो छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।
छात्रवृत्तिका लागि इच्छुक विद्यार्थीहरूले वेबसाइटमा गएर आवेदन फारम भर्न सक्नेछन्।