शुक्रबार २० असार, २०८२

नेपाली समय

सेभियामा प्रधानमन्त्री ओलीको आह्वान: मानव विकासभन्दा ऋण भुक्तानीमा बढी खर्च

सेभियामा प्रधानमन्त्री ओलीको आह्वान: मानव विकासभन्दा ऋण भुक्तानीमा बढी खर्च

प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रहरूको दुःखद यथार्थ अन्तर्राष्ट्रिय समुदायसमक्ष मार्मिक रूपमा प्रस्तुत गर्दै भन्नुभयो, “हाम्रा बालबालिका अझै कुपोषणको चपेटामा छन्, तर हामीले स्वास्थ्य र शिक्षाजस्ता आधारभूत क्षेत्रमा लगानी गर्नुभन्दा बढी ऋणको ब्याज तिर्न बाध्य छौं।”

संयुक्त राष्ट्रसंघको विकास वित्तसम्बन्धी उच्चस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो अवस्था केवल वित्तीय संकट नभएर एक गहिरो मानवीय संकट भएको स्पष्ट गर्नुभयो।

“गरिबी अझै व्यापक छ, भोकमरी बढ्दो छ, र हाम्रा धेरै बालबालिकाहरू कुपोषणको शिकार भइरहेका छन्,” उहाँले भन्नुभयो, “दुःखको कुरा, हामीले आफ्ना नागरिकको स्वास्थ्य र शिक्षामा लगानी गर्नुको सट्टा ऋणको बोझ वहन गर्नुपर्ने बाध्यता छ।”

प्रधानमन्त्री ओलीले अतिकम विकसित राष्ट्रहरूका युवाहरूका सपना दिनप्रतिदिन मर्ने क्रममा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सहायता प्रणालीकै विश्वसनीयता कमजोर बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो।

उहाँले द्वन्द्व, जलवायु परिवर्तन र विश्वव्यापी संकटहरूका कारण अति कठिनाइ व्यहोर्दै आएका राष्ट्रहरूको आर्थिक प्रगति वर्षौं पछाडि धकेलिएको बताउँदै भन्नुभयो, “एकपछि अर्को संकटले हाम्रो अर्थतन्त्रलाई हल्लाइरहेको छ। दशकौंको मेहनत शून्यमा फर्किएको छ।”

विदेशमा श्रम गर्न गएका नागरिकहरूले पठाउने रेमिट्यान्सलाई उहाँले “जीवनरेखा” को संज्ञा दिनुभयो। तर त्यस्तो रकम घर पठाउँदा लाग्ने अत्यधिक शुल्कप्रति उहाँले गम्भीर आपत्ति जनाउनुभयो।

सम्मेलनमा पारित ‘कम्प्रोमिसो डे सेभिया (सेभिया प्रतिबद्धता) नामक दस्तावेजप्रति केही आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विश्व समुदायलाई ती प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो।

उहाँले जोड दिनुभयो, “यदि सही वित्तीय लगानी सुनिश्चित गर्न सकियो भने हामी गरिबी उन्मूलन, जनताको क्षमता विकास तथा दिगो अवसरहरूको सिर्जना गर्न पूर्ण रूपमा सक्षम हुनेछौं।”