गुल्मीको धुर्कोट गाउँपालिकाले बालश्रम तथा सडक बालबालिका मुक्त पालिकाका रूपमा आफूलाई औपचारिक रूपमा घोषणा भएको छ।
गाउँसभाको १७औँ अधिवेशन अन्तर्गत आयोजित विशेष कार्यक्रममा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले उक्त ऐतिहासिक घोषणा गर्नुभएको हो ।
बालश्रम निवारण तथा सडक बालबालिकाको पुनःस्थापना सम्बन्धी कार्ययोजनाअनुसार घरधुरी स्तरको सर्वेक्षण सम्पन्न गरिई, त्यसको प्रतिवेदन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरिएको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रस्ताव स्वीकृति प्राप्त गरी आवश्यक बजेट समेत विनियोजन भएपछि कार्यक्रमहरू चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइएको हो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाई प्रमुख श्रीमती सुजाता गिरीका अनुसार पालिकाले वडास्तरमा बालश्रम उन्मूलनसम्बन्धी सचेतनामूलक कार्यक्रम, अभिभावक र बालबालिकालाई मनोपरामर्श सेवा, विद्यालयबाट बाहिर रहेका बालबालिकालाई सीपमूलक तालिम लगायतका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।
पालिकाले ९ र ११ वर्षका दुई जना सडक बालबालिकालाई आवासीय शिक्षाको अवसर प्रदान गरिरहेको छ। त्यस्तै १५ देखि १८ वर्ष उमेर समूहका विद्यालय छाडेका ११ जना किशोर किशोरीलाई हाउस वायरिङ सम्बन्धी सातदिने सीपमूलक तालिम उपलब्ध गराइएको छ।
बालश्रम सर्वेक्षणका क्रममा पालिकाको केन्द्र नजिकका होटलहरूमा कार्यरत दुई जना बालबालकासहित ट्याक्टरमा सहचालकका रूपमा संलग्न दुई जनालाई अभिभावकको जिम्मामा पुनःस्थापना गरिएको हो।
“धुर्कोट गाउँपालिकाभित्र अब कुनै पनि बालबालिका श्रमिक वा सडकमा रहने अवस्था नरहने गरी हामीले यो अभियान सम्पन्न गरेका छौँ। यो हाम्रो पालिकाको निरन्तर प्रयास र समर्पणको परिणामस्वरूप सम्भव भएको हो” अध्यक्ष पोखरेलले भन्नुभयो ।
गुल्मी जिल्लामा रहेका दुई नगरपालिका र १० गाउँपालिकामध्ये धुर्कोट गाउँपालिका पहिलो बालश्रम तथा सडक बालबालिका मुक्त स्थानीय तह बन्न सफल भएको हो।