राष्ट्रिय बाल अधिकार परिषद्ले बाल हेल्पलाइन नम्बर १०९८ सञ्चालनका लागि इच्छुक सामाजिक तथा गैरसरकारी संस्थाहरूबाट आवेदन आह्वान गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै परिषद्ले हाल सञ्चालनमा रहेका र नयाँ सञ्चालन अनुमति लिन चाहने दुवै किसिमका संस्थाहरूलाई आवेदन दिन आग्रह गरेको हो ।
बालबालिकाविरुद्धको हिंसाबाट पीडित तथा जोखिममा रहेका बालबालिकाको आकस्मिक उद्धार, राहत, मनोपरामर्श, अल्पकालीन तथा अस्थायी संरक्षण, पारिवारिक पुनर्स्थापना र सामाजिकीकरण जस्ता सेवाहरू प्रदान गर्न हेल्पलाइन सञ्चालनका लागि आवेदन माग गरिएको परिषद्ले जनाएको छ ।
‘बालबालिका सम्बन्धी नियमावली, २०७८’ र ‘बाल हेल्पलाइन सञ्चालन कार्यविधि, २०७६’ बमोजिम सेवालाई थप व्यवस्थित र विस्तार गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको सूचनामा उल्लेख छ ।
इच्छुक संस्थाहरूले सम्बन्धित स्थानीय तह र प्रदेश सामाजिक विकास मन्त्रालयको सिफारिससहित तोकिएका कागजातहरू संलग्न गरी २०८२ असार मसान्तभित्र परिषद्को कार्यालय, श्रीमहल, ललितपुरमा आवेदन पेश गरिसक्नुपर्नेछ । आवेदन फाराम यहाँबाट डाउनलोड गर्न सकिनेछ ।
तोकिएको मापदण्ड पूरा गर्ने संस्थाहरूलाई आगामी आर्थिक वर्ष २०८२/८३ देखि सेवा सञ्चालनको अनुमति प्रदान गरी समन्वयात्मक सम्झौतामार्फत कार्यक्रम अघि बढाइने परिषद्ले जनाएको छ ।