भरतपुर महानगरपालिका–२४ औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको छ। शुक्रबार आयोजित विशेष समारोहमा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा घोषणा गर्नुभयो।
यस घोषणासँगै भरतपुरका ६ वटा वडा बालमैत्री घोषण भएका छन् — यसअघि वडाहरू ६, १३, १४, २१, र २३ बालमैत्री घोषित भइसकेका थिए। महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ भित्र नै भरतपुरलाई पूर्णरूपमा बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ, र थप ५ वटा वडा यस अभियानअन्तर्गत तयारीको चरणमा छ।
५१ वटा सूचकमा आधारित मूल्यांकन
बालमैत्री वडा तथा नगर घोषणा गर्नका लागि ५१ वटा सूचक निर्धारित गरिएको छ, जसअनुसार केही सूचकहरू शतप्रतिशत र केही न्यूनतम ८० प्रतिशत पूरा भएमा बालमैत्री घोषणा गर्न सकिने व्यवस्था छ। यी सूचकहरू चार मुख्य आधारस्तम्भमा आधारित छन् — सहभागिता, विकास, संरक्षण, र बाँच्न पाउने अधिकार।
सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलका अनुसार, वडा नं. २४ ले यी सूचकहरू पूरा गरेकाले यसलाई बालमैत्री घोषणा गरिएको हो।
२०६८ देखि सुरु, २०७६ मा पहिलो घोषणा
भरतपुरमा बालमैत्री नगर बनाउने अभियान २०६८ सालदेखि थालिएको हो। पहिलोपटक २०७६ मा वडा नं. १४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो।
अधिकार र जिम्मेवारीको सन्तुलन आवश्यक
कार्यक्रममा बोल्दै उपप्रमुख अधिकारीले बालमैत्री संरचना कायम राख्न सबै पक्षको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए। “पूर्वाधार विकास मात्र होइन, सामाजिक न्याय र मानव अधिकारका पक्षमा पनि महानगर संवेदनशील छ,” उहाँले भन्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बालमैत्री वातावरणका लागि भौतिक संरचना बालमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याए। “बच्चाहरू सहज रूपमा हिँड्न, खेल्न, शौचालय जान र भर्याङ चढ्न सक्ने संरचना निर्माण आवश्यक छ,” उहाँले जोड दिनुभयो।
“घोषणा गरेर मात्र होइन, व्यवहारमा पनि बालमैत्री अभ्यास गर्नु हाम्रो साझा जिम्मेवारी हो,” पौडेलले थपनुभयो।
स्थानीय नेतृत्वको प्रतिबद्धता
वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समुदाय, विद्यालय, बाल क्लब र सरोकारवाला निकायहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले बालमैत्री अवधारणालाई व्यवहारमा लागू गर्दै बालबालिकाका हक–अधिकार संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।