काठमाडौको डिल्लीबजारमा रहेको डिल्लीबजार कन्या क्याम्पसका स्नातक तहमा अध्ययनरत छात्रा विद्यार्थीहरुका लागि रोटरी क्लब अफ डिल्लीबजारले शेयर बजार सम्बन्धि तिन दिने तालिम तथा अन्तर्कृया कार्यक्रम संचालन गरेको छ ।
कार्यक्रममा स्नातक तहमा अध्ययनरत ८० भन्दा बढी विधार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा शेयर बजार, यसका फाइदा, जोखिम पहिचान, जोखिम न्यूनिकरण र संभावित लगानीका क्षेत्रहरुका सम्वन्धमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको छ । तालिम तथा अन्तरक्रिया कार्यक्रममा मुक्ति अर्याल, अर्जुन तिमिल्सिना, प्रेम ओलि र तथा रोटरी क्लब अफ डिल्लीबजारका अध्यक्ष सागरनिधि तिवारीको प्रशिक्षण रहेको छ ।
युवाहरुमा बढ्दो शेयर बजारप्रतिको रुचीलाई मध्यनजर गर्दै उनीहरुमा शेयर बजारका सम्वन्धमा अवधारणागत स्पष्टता, विद्यमान कानूनी व्यवस्था, शेयर बजारबाट लिन सकिने फाइदा र ख्याल गर्नुपर्ने कुराहरुका सम्वन्धमा विज्ञहरुबाट प्रशिक्षण दिइएको रोटरी क्लब अफ डिल्लीबजारका निवर्तमान अध्यक्ष इन्दिरा पराजुलीले बताउनु भयो । रोटरी क्लब अफ डिल्लीबजारले विभिन्न सामाजिक संघ, संस्था, कार्यालय, निकाय, सामुदायिक संस्था, विद्यालय, क्याम्पस लगायतका सरोकारवालाहरुसँगको समन्वय र सहकार्यतामा विभिन्न मानविय काम, समाज सेवा, सहयोग, शिक्षा र सशक्तिकरणका कामहरु विगत २५ वर्षदेखी गर्दै आईरहेको रोटरी क्लब अफ डिल्लीबजारकी सन्ध्या राजभण्डारीले बताउनु भयो ।
कार्यक्रममा बाेल्दै नेपाल इन्भेस्ट्मेन्ट एण्ड सेकुरिटिज ट्रेडिङ प्रा लिका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारीले " बचत भनेको खर्च पुर्व गरिएको लगानी हो, खर्च पछीको बचत लगानी पनि होइन र बचत पनि हुन सक्दैन । युवामा बचत र लगानीको सिप हुनु पर्दछ, सानो वचतबाट पनि धितोपत्र बजारमा लगानी गर्न सकिन्छ । प्रतिफल प्राप्त गर्न सकिन्छ । लगानीका लागी टन्नै पैसा हुनु पर्दैन" बताउनुभयो ।
कार्यक्रम नेपाल इन्भेस्ट्मेन्ट एण्ड सेकुरिटिज ट्रेडिङ प्रा. लि. (ब्रोकर नं १९) को सहयोगमा सम्पन्न भएको थियो ।